गाउँले गफ-१३गाउँको मुस्कान
साना साना खुसीहरूमा रमाउन जान्ने गाउँ ठूला र भयङ्कर कर्पोरेट हर्षहरूको सपना देख्दैन। लेकबेसी, उभौली र उधौलीँमा घऱको कुलेसो,बलेसी,आँगन,बारी कान्ला, ऐँसेलु खर्क जहाँ जान्छ निःछल जङ्गली फुलहरूको मुस्कानमा अनुवाद हुन्छ। नाम थर र वैज्ञानिक जातहरू छुट्याउने पातलो दिमाग हुँदैन गाउँसित। मनले मुस्कुराउने हरेक रङ पातहरूको हरियो क्यानभासमा फुलेका मौसमी कलरहरूलाई मगजले होइन प्रेमले चिन्छ गाउँ। फाँटमा होस की लेकाली पाटन जहाँ सुन्दर मुस्कान देख्छ गाउँलाई लाग्छ हज्जार पिड़ाहरूको पेन किलर हाँसिरहेछ। अर्म पर्ममा जीवन भेट्ने गुहारहरूमा खुसी साट्ने गाउँ जङ्गलको हरेक फुलहरूमा आफ्नोपन देख्छ। नामबिनै केवल मुस्कान फुलिरहेका फुलहरू आफ्नै जुठो लाग्ने सन्तान ठान्छ गाउँ । जसरी जङ्गली फुलहरूको आफ्नै नाम र ठेगाना हुँदैन यो सानो ग्लोबको हरेक रिमोट र कन्ट्री साइडहरूमा बाँच्ने गाउँ र गाउँलेहरूको पनि कनै खास पहिचान र नाम हुँदैन् अनि हुँदैन सभ्यताले जोख्ने परिभाषा । हुन्छ त फगत प्रकृति, जसलाई पातलो मगजको सभ्यताले नयाँ आविष्कारमा कहिले अनुवाद गर्न सक्दैन, फुलको मौलिक रङ र मुस्कान वौद्धिक दिमागको सोच जस्तो फेर्न सक्दैन। त्यसैले गाउँ जङ्गली फुलहरूमा मुस्काइरहन्छ सधैँ प्राकृतिक र आदिम मुस्कान ।
1 июл 2024