साङ्सेर उच्च पाठशालाद्वारा आयोजित ‘स्कुल डे एवं विदाइ कार्यक्रम'-मा पाठशालाका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको बाल कविता :-
हामीलाई के चाहिन्छ?
थाहा छ सरकार
तपाईँलाई हाम्रो साथ चाहिन्छ,
देश उन्नति गर्न
हाम्रो हात चाहिन्छ,
एकपल्ट तपाईँ पनि विचार गर्नुहोस्
देशवासीलाई के चाहिन्छ?
सरकार....
गरीबलाई यहाँ छाना चाहिन्छ
दुई छाक राम्रो खाना चाहिन्छ,
एक जिउ ढाक्ने कपडा चाहिन्छ
भविष्य लेख्ने पाठशाला चाहिन्छ,
पाठशाला मात्र होइन सरकार
पाठ सिकाउने गुरुबा-गुरुआमा चाहिन्छ।
सरकार....
तपाईँले घोषणा गर्नु भएदेखि
हामी किताब-खाता पर्खिरा'छौँ
ओड्ने छाता पर्खिरा'छौँ,
तपाईँले भन्नु भएदेखि
रोगीहरू गाउँमै अस्पताल खोजिरा'छ
घोषणा गरेर तपाईँ कहाँ हराउनु भो'
सबले हालचाल सोधिरा'छ,
फर्केर फेरि आउनुहोस् सरकार
आउँदा मै कहाँ दुःख पाइन्छ?
छातीमा हात राखेर एकपल्ट सोध्नुहोस्
सबलाई के-के चाहिन्छ?
सरकार....
हामीलाई त स्कुल पुग्ने बाटो चाहिन्छ
उभिएको आफ्नै माटो चाहिन्छ,
यहाँ सपना रोप्ने अवसर चाहिन्छ
युवालाई देशमै रोजगार चाहिन्छ,
रोजगार मात्र भएर हुन्न सरकार
भ्रष्टाचार बिनाको सरकार चाहिन्छ,
हो हजुर....
जनताको प्यारो सरकार चाहिन्छ...।
27 июн 2024